TwitterFacebookGoogle+

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले टुंग्यायाे उम्मेदवारको नाम

  • Written by:

काठमाण्डौ
१९ पुस/ राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले उमेदवारको नाम टुंगो लगाएको छ ।सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा चुनावका लागि १६ जना उमेदवारको नाम चयन गरेको हो ।

बैठकको निर्णय अनुसार प्रदेश १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरे चयन हुनुभएको छ । यस्तै प्रदेश २ मा महोत्तरीबाट नागिना यादव र धनुषाबाट भोला पन्जियारको नाम टुँगो लागेको छ ।

यसैगरी प्रदेश ३ मा सिन्धुपाल्चोकबाट हरिशरण श्रेष्ठ, चितवनबाट छलीकुमारी शर्मा, प्रदेश ४ मा स्याङ्जाबाट सूर्यप्रसाद रेग्मी, म्याग्दीबाट विमला गौचन, प्रदेश ५ मा अर्घाखाँचीबाट बालकृष्ण पाण्डे, दाङबाट गिरिजा न्यौपाने र बाँकेबाट मेराज हलवाईलाई उमेदवार बनाउने निर्णय भएको छ ।

यस्तै प्रदेश ६ मा सुर्खेतबाट डिल्लिराम पाठक र सुर्खेतबाटै सावित्रा पौडेल, प्रदेश ७ मा बैतडीबाट प्रताव ठगुन्ना र कैलालीबाट तुलसी देवकोटालाई उमेदवार बनाउने कांग्रेसले जनाएको छ ।

यसै क्रममा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन् । राजपाले मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राजपाले प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपासँग चुनावी तालमेल गरेको छ ।

यस्तै समाजवादी पार्टीले रामप्रीत पासवानलाई नै उम्मेदवार बनाउने भएको छ । पासवान अहिले पनि राष्ट्रियसभा सदस्य हुनुहुन्छ । राष्ट्रियसभा चुनावका लागि सत्तारुढ दल नेकपाले हिजो नै उम्मेदवारको टुंगो लगाएको थियो ।

माघ ९ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आउँदो फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जना चुनावबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

फागुन २० मा दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् । राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुनेमा युवराज खतिवडा, सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली हुनुहुन्छ ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य हुन् ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com