नेपालगन्जलाई फागुनभित्रै खुला दिसामुक्त घोषणाको तयारी

नेपालगंज,
१३-माघ / नेपालगंज उपमहानगरपालिकाले फागुन मसान्तसम्म नगरलाई खुला दिसामुक्त घोषणा गर्नका लागि तीब्र कसरतमा जुटेको जनाएको छ । उपमहानरपालिकाले डेढ महिना मात्र बाँकि छँदा सेवाग्राही परिचय पत्र बितरण थालेको छ ।
अहिलेसम्म शौचालय बनाएका ८ हजार २ सय ८८ घरपरिवारलाई शौचालय कार्ड बितरण गरिएको उपमहानगरपालिकाका खुला दिसामुक्त अभियानका फोकलपर्सन ओविराज आचार्यले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकामा २४ हजार ९ सय ९८ घरधुरी रहेका मध्ये २० हजार घरपरिवारले मात्र चर्पी बनाएका छन् ।
अझैं ४ हजार १ सय घरमा शौचालय निर्माण हुन बाँकि छ । अहिलेसम्म वडा नम्बर २४ मा रहेको शिद्धार्थ शिबशक्ति टोललाई मात्र खुला दिसामुक्त घोषणा गरिएको छ भने वडा नम्बर २, ३ र ५ प्रक्रियामा रहेका छन् । उपमहानगरपालिकामा रहेका अति बिपन्न समुदायका लागि शौचालय निर्माण सहयोगका लागि १ सय वटा निबेदन परेका छन् ।
खुला दिसामुक्त अभियानलाई समयमा सफल गराउनका लागि पर्चा, पम्पलेट, माईकिङ र होर्डिङ बोर्ड लगाउने काम गरेको पनि आचार्यले बताउनुभयो । नेपालगंज उपमहानगरपालिकाले लक्ष्यको एक महिना अगाडि फागुन भित्रै खुला दिशामुक्त घोषणा गर्ने बताएपनि चुनौती भने रहेको स्वयम् उपमहानगरपालिकाले जनाएको छ ।
गत कात्तिक २३ गते नगर सरसफाई सम्मेलन गरेर रणनीतिक योजनाका साथ लागि परेको उपमहानगरपालिकाले शौचालय नबनाउने र प्रयोग नगर्नेहरुलाई ५ सय देखि ५ हजारसम्म जरिवाना लगाउने पनि बताएको छ । यस बर्षको नगर परिषद्ले पनि खुला दिसामुक्त कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको उपमहानगरपालिकाका निमित्त कार्यालय प्रमुख मोहन हमालले बताउनुभयो ।
नेपालगंज उपमहानगरपालिकामा ११ वटा सार्बजनिक शौचालय संचालनमा रहेका छन् भने केही शौचालय मर्मत संभार हुदै गरेको र घुम्ती शौचालय निर्माणका लागि पनि पहल थालेको हमालले बताउनुभयो ।