TwitterFacebookGoogle+

नेपाल-भारत सम्बन्ध औचित्यपूर्ण बनोस् : पूर्वप्रम नेपाल

  • Written by:

काठमाडौँ,
१२-माघ / नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारत सम्बन्धलाई औचित्यपूर्ण बनाउनुपर्ने बताउनुभएको छ ।

पेसागत महासङ्घद्वारा नेपाल–भारत सम्बन्धका विषयमा आज आयोजित अन्तरक्रियामा उहाँले दुई देशबीचको मित्रतालाई दिगो कायम राख्न सन्धिसम्झौता सन्तुलनमा हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहनुभएका नेता नेपालले मित्रतामा चित्त नबुझे मित्र परिवर्तन गर्न सकिने भएपनि छिमेकी परिवर्तन गर्न नसकिने बताउँदै रोटीबेटीको सम्बन्धलाई मित्रताको हिसाबले हेरिनुपर्ने आवश्यकताअनुसार सम्बन्ध अर्थपूर्ण तरिकाले गठन तथा पुनःगठन हुनुपर्ने बताउनुभयो ।

साहित्यकार मोदनाथ प्रश्रितले प्राचीन समयदेखि दुबै देशबीच मैत्रीपूर्ण र सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै नेपाल स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले कसैको पनि हस्तक्षेप नेपालीलाई सह्य नहुने प्रस्ट पार्नुभयो ।

बुद्धिजीवी डा विजय पौडेलले दुबै देशले कूटनीतिक माध्यमबाट एकअर्काको भावनालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै त्यस्तो परिपाटीले दुबै देशलाई लाभ प्राप्त हुने विचार व्यक्त गर्नुभयो ।

युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तले सदियौँ पुरानो सम्बन्धलाई निरन्तरता दिनका लागि दुई मुलुकका सांस्कृतिक पक्षलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले जनप्रतिनिधिले जारी गरेको संविधानलाई मधेसी मोर्चाले स्वीकार्न नसक्दा भारतको अनावश्यक चासो नेपालप्रति बढेकाले त्यसलाई न्यूनीकरण गर्न बुद्धिजीवीको सुझाव लिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com