नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

बाँके,
२७-असार / बाँकेको नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् ।
प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ ।
नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भने ‘क्यारी ब्याग’ र ‘ढलान सिटी’ जहाँ पायो त्यही फाल्न मिल्दैन । फेरि झोलाजस्तो कहिल्यै नसड्ने पनि होइन । प्लाष्टिकजस्तो नकारात्मक असर नपर्ने भएकाले नयाँ उत्पादन शुरु गरेका छौँ ।’
क्यारी ब्याग र ढलान सिटीको बाँकेमै राम्रो बजार रहेको छ । स्थानीय बजारमै खपत हुने भएकाले होली प्लाष्टिकले उत्पादन शुरु गरिएको उद्योगले जनाएको छ ।
अन्सारीले हालकै मेशिनबाट सड्ने खालको झोला उत्पादन गर्ने तयारी गरेको जनाउँदै भने ‘अहिलेको मेशिनलाई केही परिवर्तन गरेर नयाँ झोला उत्पादन गर्न सकिन्छ ।’