सरकारद्वारा पाँच देशका लागि राजदूत सिफारिस,देउवा सरकारले नियुक्त गरेकालाई फिर्ता बोलाइयो

काठमाडौं,
१३-पुस / सरकारले पाँच देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ। मन्त्रिपरिषदको बैठकले फ्रान्स, कुवेत, क्यानडा र थाइल्याण्ड तथा संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री बास्कोटाले गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।
सरकारले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि नेपाली राजदूत र सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्तिका लागि सिफारिस गरेको मन्त्री बास्कोटाले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुषाल, दक्षिण कोरिया नेपाली राजदूत अर्जुनजंगबहादुर सिंह र स्पेनका लागि नेपाली भरतबहादुर रायमाझीलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए। उनका अनुसार तीनै जना राजदूतलाई नेपाल फर्किन तीन साताको समय दिइएको छ।
बंगलादेशका लागि नेपाली राजदूत भुषाल र दक्षिण कोरियाका लागि नेपाली राजदूत सिंह कांग्रेसको कोटाबाट राजदूत भएका थिए भने रायमाझी राप्रपाको कोटामा राजदूत भएका थिए। सरकारले यसअघि जापानका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको थियो।