महेन्द्रनगर–दिल्ली बस सेवा सुरु
- Written by: News Desk
महेन्द्रनगर,
१४-माघ / महाकाली सेती यातायात समिति कञ्चनपुरले महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नेपाल भारत–मैत्री बस सेवा सुरु गरेको छ ।
बुधबार साँझ बस सेवाको उद्घाटन गर्दै नेपाल यातायात राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीले देशको विषम परिस्थितिमा पनि यातायात व्यवसायीले अनेक चुनौतीसँग जुधेर सेवा दिइरहेको बताउनुभयो ।
बस सेवा सञ्चालनले नेपाल–भारत सीमा क्षेत्र गड्डाचौकी, वनबासा क्षेत्रमा नेपालीमाथि हुने लुटपाटका घटनामा कमी आउने बताउँदै उहाँले भारतीय भूमिमा नेपाली बसको सुरक्षामा ध्यान दिन भारतीय पक्षसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारत उत्तर प्रदेश परिवन गाजियावादका अध्यक्ष एसपी सिंहले मैत्री बस सेवाले नेपाली यात्रुलाई सुविधा पुग्ने बताउनुभयो ।
महेन्द्रनगरदेखि ३५० किमी दूरीमा रहेको नयाँ दिल्लीका लागि हरेक दिन एक नेपाली र एक भारतीय बस सञ्चालन हुने समितिले जनाएको छ । महेन्द्रनगर–दिल्लीको भाडा प्रतिव्यक्ति रु ५७० भारु तोकिएको छ ।
समितिका अध्यक्ष नवीन भट्टका अनुसार समितिले छिट्टै भारतको देहरादुनसम्म पनि बस सेवा सुरु गर्ने तयारी गरिरहेको छ । रासस