TwitterFacebookGoogle+

धामीझाँक्रीको विश्वास छोडी स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढ्यो

  • Written by:

जाजरकोट,
१४-माघ /  हिजोआज यहाँका मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीको विश्वास छोडी उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र यसका मातहतका कार्यालयमा आउनेको सङ्ख्या बढेको छ ।

बच्चा तथा ठूलो मानिस बिरामी हुनेबित्तिकै धामीझाँक्रीलाई देखाउने चलन बिस्तारै कम हुदै गएको स्थानीयवासीले बताएका छन् । धामी र झाँक्री बिरामी भए पनि स्वास्थ्य संस्थामा उपचारका लागि ल्याएको देख्दा आफूहरु पनि बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्था पुग्ने गरेको दह-३ की कलावती पुनले बताउनुभयो ।

स्वाइन फ्लुको समयमा धामीझाँक्रीलाई देखाउँदा आफ्नो श्रीमान् झन् बिरामी परेको र उपचारका लागि स्वास्थ्य संस्था लिएर गएपछि मात्र सञ्चो भएको पुनले भन्नुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा बिरामी हुनेबित्तिकै स्वास्थ्य संस्था जानुभन्दा पहिले धामीलाई देखाउने चलन बिस्तारै कम हुदै गएको वीरेन्द्र ऐश्वर्य उच्चमावि लिम्सा रोकाय गाउँका प्राचार्य गोरखबहादुर सिंहले बताउनुभयो ।

दुर्गम स्थानमा रहेको टाँलेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज प्रेमा लामा भन्नुहुन्छ, “ एक वर्षपहिले उपचार गर्न आउने बिरामीको सङ्ख्या धेरै कम थियो, अहिले दिनमा १५ देखि माथि उपचारका लागि आउने गरेका छन् ।”

त्यस्तै पहिले औषधि दिएपछि नबोली जाने बिरामी अहिले मलाई के भएको छ र के औषधि खाएमा कहिले निको हुन्छ भन्ने चासो दिन थालेको लामाले बताउनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा कुपोषित भएका बालबालिका बढी आउने गरेका छन् । सन् २००९ देखि २०१५ सम्म जाजरकोटमा एक हजार ८७६ जना कुपोषित बालबालिकाको उपचार भएको सिग्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका सुशील शाहीले जानकारी दिनुभयो ।

जनचेतना बढेसँगै कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याएर उपचार गर्नेको सङ्ख्या बढेको हो । जाजरकोटमा १५ वटा स्थानमा कुपोषित बालबालिकाको उपचारात्मक खाना दिएर उपचार गरिन्छ । रासस

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com