TwitterFacebookGoogle+

भारतको गणतन्त्र दिवस

भारत,
१२-माघ /  भारतले आज ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । कडा सुरक्षाकाबीच फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा अल्याण्डको प्रमुख आतिथ्यतामा भारतले आज गणतन्त्र दिवस मनाउन लागेको हो ।

नयाँदिल्लीस्थित राजपथमा गणतन्त्र दिवसको ६६ वर्षको इतिहासमा पहिलो पटक विदेशी सेनाले परेडमा भाग लिने भएको छ । फ्रेन्च आर्मीको ३५ औं इन्फ्रेन्ट्री रेजिमेन्टका १ सय ३० जवानले परेडमा भाग लिन लागेका हुन् । भारतले यसवर्ष फ्रान्स्वा अल्याण्डका लागि कडा सुरक्षाको व्यवस्था गरेको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा गणतन्त्र दिवसका अवसरमा भारत पुग्दा उनले करिब २ हजार सुरक्षाकर्मी साथमै लिएर आएका थिए भने यस पटक भारतले फ्रान्सेली राष्ट्रपतिकै लागि करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

नयाँ दिल्लीस्थित इन्डियागेटमा हुने विशेष समारोहमा विहान करिब १० बजे राष्ट्रपति प्रणव मुखर्जी लगायत भारतका शीर्ष अधिकारीहरु सहभागी हुनेछन् । गणतन्त्र दिवसका अवसरमा आइएसले आक्रमण गर्ने धम्की दिएपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ भने थुप्रै मानिस पक्राउ परेका छन् ।

यसैबीच, भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति मुखर्जीलाई एक बधाई सन्देश पठाउनुभएको छ ।सन्देशमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धि कामना गर्नुभएको छ ।

Comments

comments

KOHALPUR.COM

Kohalpur web guide with latest local news, events, directory, updates and many free services related to Kohalpur, Nepal.

[email protected]
www.kohalpur.com