तुलसीपुर,
१९ वैशाख/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्वर्गद्वारी टोलमा पार्किङ गरि राखिएको कारमा मृत भेटिएका तीन बच्चाको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण रहेका छन् । उनीहरु तीनै जना वैशाख १६ गते हराएको परिवारले बताएका छन् ।
घटना रहस्यमय रहेकाले अनुसन्धानकालागि नेपालगञ्जबाट कुकुरसहितको टोली पनि आएको छ । लामो समयदेखि पार्किङ गरि राखिएको गाडीमा कसरी शव फेला प¥यो भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
स्थानीय यादव गैरेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा उनीहरु मृत फेला परेका थिए । अनुसन्धानकालागि गाडी धनी गैरे र चालक पदम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफन्तले बच्चाको हत्या भएको भन्दै सत्यतथ्य अनुसन्धानको माग गर्दै आएका छन् ।