बाँके,
छ महिनादेखि घरमैं बसेर तलब खाइपाइरहेका सरकारी कर्मचारी कार्यालय सुचारु भएपछि ‘गयल’ पाइएको छ । स्थानीय प्रशासनले गरेको छड्केका क्रममा ठुलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको हो ।
पहिलो दिन नेपालगन्ज भन्सार कार्यालयमा १७ जना विना जानकारी अनुपस्थित रहेको पाइयो,’ अनुगमन टोलीका अधिकृतले दैनिक नेपालगन्जसँग भने, ‘तोकिएका कर्मचारी काममा नआउँदा सेवाग्राहीलाई मर्का त परेको छनै, राजस्व संकलनमा पनि नकारात्मक प्रभाव परेको देखियो ।’ दोस्रो दिनको छड्केमा यातायात ब्यवस्था कार्यालयका २० जना अनुपस्थित पाइएको उनले जानकारी दिए । ‘सेवाग्राहीको भिड उत्तिकै छ,’ उनले भने, ‘कर्मचारी काममै आएनन् ।’
सेवा प्रदान गर्ने सरकारी कार्यालयले काममा ढिलासुस्ती गरेका कारण सेवाग्राहीलाई मर्का परेको भन्ने गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले ती कार्यालयको अनुगमन थालेको हो । नेपाल सरकारले असोज १ गते देखि लागु हुने गरि सबै सरकारी कार्यालयका कर्मचारीलाई कार्यालयमा हाजीर हुन निर्देशन दिएको छ ।
अत्यावश्यकीय सेवा प्रदायक कार्यालय भन्सार र यातायात ब्यवस्था कार्यालयमा सेवा प्रवाहको अवस्था र स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बिषयमा जिल्ला प्रशासनको अनुगमनले अनुगमन गरेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै सेवाग्राहीलाई छिटो छरितो ढंगबाट सेवा प्रदान गराउने उद्देश्यले अनुगमन गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
‘भन्सार र यातायात कार्यालय बढी भिडभाड हुने र अत्यावश्यकीय सेवा प्रदायक कार्यालय भएकाले ति कार्यालयबाट कसरी सेवा प्रवाह भैरहेको छ, स्वास्थ्यका मापदण्ड पालना भएको छ भन्ने भन्ने बिषयमा हेर्नका लागी अनुगमन टोली खटाइएको’ निमित्त प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । कर्मचारीका कारणले कोरोना संक्रमण नफैलियोस भन्ने कुरालाई मध्यनजर राखी स्वास्थ्य मापदण्ड अपनाउँदै छिटो छरितो सेवा प्रदान गराउने उद्देश्यले अनुगमन गरिएको प्याकुरेलको भनाइ छ ।
अनुगमनमा संलग्न प्रशासकीय अधिकृत राम कुमार सोनकरका अनुसार भन्सार लगायतका केहि अत्यावश्यकीय सेवा प्रदायक कार्यालयमा काममा ढिला सुस्ती हुने गरेको भन्ने गुनासो आएकाले अनुगमन गरिएको बताए । अनुगमनका क्रममा केहि कर्मचारी कार्यालयमा अनुपस्थित रहेको, उपस्थित भएकाले पनि हाजीर नगर्ने, प्रभावकारी सेवा प्रवाहमा ध्यान नदिने गरेको पाइएको जानकारी दिए ।
बढी भिडभाड हुने कार्यालय यातायात र मालपोत कार्यालयमा अब्यवस्थित तरिकाले काम कारवाही हँुदा कोरोना संक्रमण फैलिने जोखिम भएको कुरालाई मध्यनजर राख्दै सुरक्षा ब्यवस्था मिलाउन आवश्यक देखिएकाले प्रहरी कार्यालयलाई त्यसको ब्यवस्थापन मिलाउन भनिएको सोनकरले जानकारी दिए । सेवाग्राही र कर्मचारीलाई समेतलाई कोरोना संक्रमण हुन नदिन उच्च सर्तकता अपनाउदै स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले अनुगमन गरिएको प्रशासकीय अधिकृत सोनकरले बताए ।
अनुगमनका क्रममा नेपालगन्ज भन्सार कार्यालय र यातायात ब्यवस्था कार्यालयमा ठुलो संख्यामा कर्मचारी अनुपस्थित भएको पाइएको अनुगमन टोलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेबाट नेपालगन्ज भन्सार कार्यालय र यातायात ब्यवस्था कार्यालयमा गरिएको छड्के अनुगमनका क्रममा भन्सार कार्यालयमा १७ जना र यातायात ब्यवस्था कार्यालयमा २० जना कर्मचारी अनुपस्थित रहेको पाइएको अनुगमन टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बाँकेका नासु बेदेश्वर गौतमले जानकारी दए ।
दुवै कार्यालयमा ठुलो संख्यामा कर्मचारी अनुपस्थित हुँदा राजश्व संकलन लगायत सेवा प्रवाहमा असर परेको देखिएको गौतमले बताए । अत्यावश्यकीय सेवा प्रदायक कार्यालयका सुरक्षा मापदण्ड अपनाउदै सेवा प्रवाह गर्ने नीति सरकारले लिएको भएता पनि ठुलो सख्यामा कर्मचारीहरु कार्यालयमा उपस्थित नहुने र भएकाले पनि काम नगर्ने प्रवृत्ति देखिएको अनुगमनमा संलग्न एक अधिकृतले बताए ।