वैजयन्ती शर्मा , काठमाडौँ
दुई वर्षअघि कात्तिक पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले विजुली बसको युग शुरु भएको घोषणा गर्दै बिवाइडी कम्पनीका ५ वटा बसको उद्घाटन गरे । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महाशेठ, पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्री ओली बसमै चढेर कुपण्डोलबाट सिँहदरबारसम्म आए । तर उद्घाटनको दोस्रो दिन देखि नै बस सञ्चालनमा आएनन् ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट लुम्बिनीसम्म सञ्चालन गर्न एशियाली विकास बैंकको अनुदानमा यी बस किनिएका थिए । विमानस्थल नबनेसम्म भने काठमाडौँ उपत्यकामै ती बस सञ्चालन गरिने घोषणा सरकारले गरेको थियो ,।
एडीबीले ‘सफा लुम्बिनी सार्वजनिक यातायात योजना’का लागि नेपाल सरकारलाई गरेको रू. २९ करोड आर्थिक सहयोगमा विद्युतीय बस सञ्चालनका लागि रू. ८ करोड ७५ लाखमा पर्यटन मन्त्रालयको मातहतमा पाँचओटा बस किनिएका थिए । बस उद्घाटनपछि मन्त्रालयले बीवाइडीका बसमा त्रुटी देखाउँदै सञ्चालन गरेन । त्यसयता बीवाइडीको नेपालका लागि आधिकारिक विक्रेता सिमेक्स प्रालिले मन्त्रालयलाई विभिन्न समयमा पत्र लेखेको छ । ‘हामीले विभिन्न समयमा मापदण्ड जाँच्न, सरकारले नचलाए आफै चलाउन लगायतका प्रस्ताव लिएर मन्त्रालयमा गयौँ तर सरकारले यसको प्रक्रिया अघि बढाएन,’ नाम नखुलाउने शर्तमा सिमेक्सका एक कर्मचारीले बताए ।
मन्त्रालयलाई बारम्बर पत्र लेख्दा पनि मन्त्रालयले औपचारिक वार्ता नगरेको र ठेक्का तोड्ने कि बस सञ्चालन गर्ने भन्ने आधिकारिक जवाफ नदिएको उनले बताए ।
।
बस सञ्चालनको जिम्मेवारी पाएको साझा यातायातले त्यतिवेलै बसमा कमजोरी नभएको भन्दै बस सञ्चालन गर्ने बताएको थियो । विद्युतीय बसको मुख्य कुरा व्याट्री भएको र त्यसमा कुनै समस्या नदेखिएकाले सरकारले अनुमति दिए बस सञ्चालन गर्ने साझाले बताएको थियो । तर साझालाई बस सञ्चालनको अनुमति दिइएन ।
त्यसयता ती बस कम्पनीकै ग्यारेजमा थन्किएका छन् । गाडी सञ्चालन नगरेर थन्काएर राखेमा बिग्रिने भएकाले दुई वर्षसम्म थन्काएर राखिएका गाडीको कन्डिसन बिग्रिदै गएको कम्पनीले बताएको छ ।