लन्डन,
च्याम्पियनसिप क्लब एएफसी बर्नमाउथ काराबाओ कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको रोमाञ्चक खेलमा बर्नमाउथले क्रिस्टल प्यालेसलाई टाइब्रेकरमा ११–१० गोलले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको हो।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि खेलको नतिजा सोझै टाइब्रेकरबाट निकालिएको थियो। रोचक टाइब्रेकरमा दुवै टोलीले २४ पेनाल्टी प्रहार गरेका थिए; जसमा बर्नमाउथ ११–१० ले विजयी भयो।
सुरुआतमा दुवै टोलीले लगातार १०÷१० पेनाल्टी प्रहार सफल बनाएका थिए। ११औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए। त्यसपछि बर्नमाउथका डेविड ब्रुक्सले गोल गर्दा क्रिस्टलका लका मिलिभोजेभिच गोल गर्नबाट चुकेका थिए। बर्नमाउथले अर्को चरणमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरी मंगलबार राति नै भएका अन्य खेलमा न्युक्यासल युनाइटेडले ब्ल्याकबर्न रोभर्सलाई १–० गोलले हरायो। न्युक्यासलको जितमा रायन फ्रेजरले ३५औं मिनेटमा निर्णायक गोल गरेका थिए। अर्को खेलमा बेस्टहाम युनाइटेडले चाल्र्टन एथलेटिक्सलाई ३–० गोलले हरायो। एकपक्षीय खेलमा वेस्टहामलाई जिताउन सेबास्टियन हलरले २२औं र २६औं मिनेटमा गोल गरे।
अर्को गोल फेलिप एन्डर्सनले ८०औं मिनेटमा थपेका थिए। अर्को खेलमा एस्टन भिल्लाले बुर्टोन अल्बियोनलाई ३–१ गोलले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ। वाटफोर्डले अक्फोर्ड युनाइटेडलाई टाइब्रेकरमा ३–० गोलले हराएको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा सोझै टाइब्रेकरको सहायतामा निकालिएको थियो।