अञ्जना चौधरी, तुलसीपुर
२-असोज / सरकारले विहीबारदेखि विद्यार्थी भर्ना गर्न दिएको निर्देशन अनुसार अहिले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका छन् । तर, क्वारेन्टिन बनाएका विद्यालयहरुमा भने विद्यार्थीहरु भर्ना हुन हिच्किचाइरहेका छन् ।

क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको संख्यामाकमी आएको र विद्यालयमा क्वारेन्टिन नबनाउने सरकारको निर्णय अनुसार अहिले सामुदायिक विद्यालयहरु खाली छन् । तुलसीपुर उपमहानगरपालिकाले सातवटा सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाएको थियो । जनता संस्कृत मावि बिजौरी, लक्षिणपुर मावि, गुरुजजुर मावि रक्षाचौर, सेन्टर मावि तुलसीपुर, मावि कालाखोला, अमर मावि उरहरी र बालापुर स्कुलमा क्वारेन्टिन बनाईएको थियो ।

अहिले बालापुर स्कुलमा मात्रै क्वारेन्टिन रहेको छ भने अरु सबै विद्यालयहरु खालि भएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताए । ‘हामीले अहिले बालापुरबाहेक अरु विद्यालय खाली गराएका छौं’, उनले भने ‘क्वारेनटाईन हुँदा प्रयोग भएका सामानहरु सुरक्षित राखेका छौं । आवश्यक पर्‍यो भने तत्काल क्वारेन्टिन बनाउँछौं ।’

अहिले क्वारेन्टिनमा बस्नेको संख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले अहिले एउटा विद्यालयलाई मात्रै क्वारेन्टिन बनाएको उनको भनाई छ । विद्यार्थीहरुको संख्या हेरेर अनलाईन तथा स्कुल मै अध्ययन गराउन सकिने उनको भनाई छ । उनले भने ‘कुनै विद्यालयहरुमा विद्यार्थी कम छन् त्यस्तो विद्यालयहरुलाई एउटा बेञ्चमा एक जना विद्यार्थी राखेर सुरक्षा सावधानी अपनाएर अध्ययन गराउन भनेका छौ ।’

लामो समय बिदा हुँदा अन्योलमा विद्यार्थीहरु
कोरोनाका कारण लामो समय पढाई रोकिएपछि विद्यार्थीहरु भने अन्योलमा छन् । मावि सेन्टरकी छात्रा सरिता भण्डारीका अनुसार अहिले अनलाईन कक्षा सुरु भए पनि प्रभावकारी भएको छैन् । विद्यालयमा भर्ना खुलेको भएपनि क्वारेन्टिन राखिएको भन्दै कोरोनाको जोखिम हुन्छ की भन्ने चिन्ता रहेको उनले बताईन् । यस विषयमा विद्यार्थी मात्रै होइन्, अभिभावक पनि चिन्तामा छन् । क्वारेनटाईन बनाईएको विद्यालयमा छोराछोरीहरु पठाउन असहज लागेको अभिभावक मानबहादुर केसीले बताए ।

अहिले क्वारेन्टिन बनाएका विद्यालयहरुमा पनि भर्ना हुनेको संख्यामा कमी आएको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए । उनका अनुसार विगतमा १५/१६ सय विद्यार्थी भर्ना भए पनि अहिले जम्मा ६/७ सय मात्रै भर्ना भएका छन् । तर, आफुहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयमा निर्मलीकरण गरेकाले कोरोना सर्ने कुनै त्रास नहुने भनि परामर्स गरेको बताए । विद्यार्थी भर्ना अनुसारको पाठ्क्रम वितरण भएको उनले बताए ।

त्यस्तै जनता संस्कृत मावि बिजौरीमा पनि क्वारेन्टिन राखेकाले विद्यार्थीहरु त्रासमा हुने गरेको छ । विद्यार्थीहरुको घरघरमा गएर भर्ना अभियान संचालन गर्दा अभिभावहरुबाट क्वारेन्टिन बनाएका विद्यालयमा छोराछोरीहरुलाई पढाउन असहज प्रधानाध्यापक पदमबहादुर रावतले बताए । आफुहरुले विद्यालयमा नभई गाउँ–गाउँमा गएर पढाउने तथा विद्यार्थीहरुलाई सहजीकरण गर्ने योजना बनाएको उनको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको रुटिङ् अनुसार पढाउने उनले बताए ।

विद्यालयमा निर्मलीकरण गरिएन्
जनता संस्कृत मावि विजौरीमा निर्मलीकरण पनि गरिएको छैन् । क्वारेन्टिन हटाएको तर निर्मलीकरण नगर्दा झनै विद्यार्थीहरु त्रासमा रहेको प्रधानाध्यापक रावतको भनाई छ । ‘मैले १८ नं. का वडा अध्यक्ष माधव वलीलाई निर्मलीकरण गर्ने विषयमा जानकारी गराएको छु उहाँले म स्वास्थ्यमा भन्छु र निर्मली करण गर्ने मान्छे पठाउँछु भन्नु भएको थियो’, उनले भने ‘तरअहिलेसम्म कोही पनि आएको छैन । क्वारेनटाईन हुँदा प्रयोग भएका वेड, झुल त्यसै रहेका छन् ।’

तुलसीपुर उपमहानगरपालिका कोभिड-१९ फोकल पर्सन बिमल केसीका अनुसार क्वारेन्टिन बनाईएको स्थान खाली भएपछि सबै ठाउँमा निर्मलीकरण गरेको बताए । स्प्रे गरेर मात्रै सामान उठाउने भएकाले निर्मलीकरण गरेको उनको भनाई छ । कुनै विद्यालयमा पुनः क्वारेनटाई बनाउनु पर्छ की भन्ने हिसावले सामान नउठाएको उनको भनाई छ । सरकारले विद्यालयहरुमा क्वारेनटाई नबनाउने भने पनि विद्यालयमा क्वारेनटाईन बनाउनु बाहेक अन्य विकल्प नभएको उनको भनाई छ ।

प्रतिकृया

Comments