राजापुर,
२६-भदौ /  बर्दियाको बारबर्दिया नगरपालिका–९ मा रहेको पर्यटकीय क्षेत्र खैरेनी गाउँमा सञ्चारको सुविधा पुग्ने भएको छ । सञ्चारको पहुँच नपुगेका तीन गाउँमा नेपाल टेलिकमले टावर निर्माण शुरुआत गरेसँगै सञ्चारको सुविधा पुग्ने निश्चित भएको हो । सो नगरपालिकाका खैरेनी र ढकेला तथा बाँसगढी नगरपालिकाको थुम्नी गरी तीन गाउँका करिब आठ सय घरपरिवार सञ्चारको सुविधाबाट वञ्चित छन् ।

फोन गर्नका लागि उनीहरु रातमा समेत घरको छतमा पुग्नुपर्ने अवस्था छ । चारैतर्फ जङ्गल रहेका ती गाउँ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् । ती गाउँलाई पुग्ने गरी नेपाल टेलिकमले टावर निर्माण कार्य शुरु गरेको छ । पर्यटकीय क्षेत्र समेत रहेको खैरेनी गाउँमा प्रदेश सभा सदस्य तिलक शर्मा र नगरप्रमुख दुर्गाबहादुर थारुले ५० मिटर अग्लो टावरको शिलान्यास गर्नुभएको छ ।

नेपाल टेलिकमकाअनुसार यसअघि ५० मिटरका आठ टावर निर्माण भएका छन् । चारैतिर जङ्गल भएको हुनाले पनि टावरको उचाई ५० मिटरको बनाउनुपरेको प्राविधिकको भनाइ छ । टावरको उचाई बढाउनुपर्ने भएकाले सोचे भन्दा ढिला निर्माणको शुरुआत भएको प्रदेश सभा सदस्य शर्माले बताउनुभयो । उहाँले लामो समयको प्रयासपछि खैरेनीलगायत बर्दियामा नौ स्थानमा टावर स्थापना गर्न सफल भएको बताउनुभयो ।

बर्दिया जिल्लाकै चर्चित प्राकृतिक सत्खलुवा ताल र खैरेनी गाउँमा रहेको सत्खलुवा घरबासमा समेत सञ्चारको सुविधा नहुँदा पर्यटकलाई समेत समस्या भएको छ । नगरप्रमुख थारुले सत्खलुवा ताल घुम्न आउने पर्यटकका लागि टावरले सञ्चार सुविधा दिने बताउनुभयो । सत्खलुवा ताल घुम्न, तालमा पानी खान आउने जङ्गली जनावरको अवलोकन गर्न र सत्खलुवा घरबासमा स्थानीय जात जातीको संस्कृति तथा खानाका परिकार खानका लागि पर्यटक आउने गर्दछन् ।

प्रतिकृया

Comments