तुलसीपुर,
२५-भदौ / ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्ष खाली भएको छ । बुधबार ४ जना थुनुवा छुटेसंगै थुनुवा कक्ष खाली भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । अहिले विश्वभरी फैलिएको कोभिड १९ को महामारीलाई मध्येनजर गरेर ईलाका प्रहरी कार्यालयले छिटो–छिटो अनुसन्धान गरि थुनुवालाई छोडेको हो ।
अदालतबाट म्याद थप गरेका व्यक्तिहरुलाई छिटो–छिटो अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पठाएको र अदालतको पनि छिटो फैसला गर्ने निर्णय भएको हुँदा थुनुवा कक्ष खालि भएको बताए । ‘अति जघन्य अपराध गरेका व्यक्तिहरुलाई समातेका छौ, कानुनले दोषी ठहराएका व्यक्तिहरुलाई समात्ने र सामान्य झैभगडा निवेदनका केशहरुमा बाहिर बसेर छलफल गर्ने गरेको छौं’, उनले भने‘सकैलाई पछि आउनुस् भनेर पठाउने गरेका छौ ।’
कतिपय ठाउँहरुको थुनुवा कक्षमा पनि कोरोना संक्रमण पुष्टि भएकाले तुलसीपुर क्षेत्रमा त्यस्तो खालको समस्या नआओस् भनेर छिटो अनुसन्धान गरेर पठाएको उनको भनाई छ । प्राबधान अनुसार लागुऔषधको ९० दिन र अन्य अपराधको २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने भएपनि पछिल्लो समय लागु औषधको ३०/४० दिन र अन्य अपराधको ८/१० दिनमा सबै प्रक्रिया पुरा गरेर संक्रमित हुन सक्ने कुरालाई मध्ये नजर गरेर छिटो पठाउने काम गरेको उनको भनाई छ ।
त्यसैगरी तुलसीपुर क्षेत्रमा गुण्डा गर्दी चोरी, झगडा र अन्य अपराधमा कमी आउनु र धेरै प्रहरी परिचालन गरेर टोल सुरक्षा समिति गठन गरेकाले पनि अपराधीहरुको संख्यामा कमी आएको बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ७० जना थुनुवा राख्न सक्ने क्षमता छ ।